रवि लामिछानेलाई थुनामै राख्ने आदेश


रुपन्देही – जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी गरेको छ।

बुटवलस्थित सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा छन्। उनले आफू ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सुनिश्चितता दिन तयार रहेको बताउँदै, आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गरेका थिए।

साउन १९ गते सोमबार पेश गरेको निवेदनमार्फत उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका थिए। तर अदालतले उनको निवेदन अस्वीकार गर्दै थुनामै राख्ने आदेश दिएको हो।

यसअघि, गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरिसकेको छ।