आज विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ, फ्लोर क्रस गर्ने लामा समूहको धम्की


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

कांग्रेस र एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन्। कांग्रेस र एमालेले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्।

बानियाँले मन्त्रिपरिषद्लाई पूर्णता नदिई विश्वासको मत लिन लागेका हुन् । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षले आफ्ना तीन नेतालाई मन्त्री नियुक्त नगरे फ्लोर क्रसको चेतावनी दिएको छ । लामा समूहमा १४ सांसद छन् । जसमध्ये सांसद रामकृष्ण चित्रकार अमेरिका भ्रमणमा छन् । मुख्यमन्त्रीबाट रानीनामा दिने बेला लामा र बानियाँबीच पहिलो नियुक्त भएका तीन मन्त्रीलाई पुनः नियुक्ति दिनुपर्ने सहमति भएको थियो । तर अहिले त्यस विषयमा किचलो देखिएको छ । यदि लामा समूहले फ्लोर क्रस गरेमा मुख्यमन्त्री बानियाँको सरकार एक सातामै ढल्नेछ ।