लामा पक्षका सांसद काठमाडौंमै बसेपछि मुख्यमन्त्री बानियाँ आपतमा, नेताहरूको तारन्तार फोन


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । पार्टीभित्र आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला उनी संसद् फेस गरेर अघि बढ्ने तयारीमा छन् । पार्टीको निर्देशन पनि पहिले विश्वासको मत लिएर बाँकी विषयमा सहकार्य गर्ने रहेकाले सोहीअनुसार मुख्यमन्त्री बानियाँ अघि बढेको कांग्रेस सांसद सुरजचन्द्र लामिछानेको भनाइ छ ।

पहिले विश्वासको मत दिने र अन्य विषयमा छलफल गरेर मिलाउन सभापति शेरबहादुर देउवाले दुबै समूहलाई निर्देशन दिएको उनको दावी छ । पार्टीले माग सम्बोधन गर्ने सकारात्मका देखाउँदै गर्दा निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्ष काठमाडौंमै छ । लामाले १३ सांसदलाई एक होटलमा राखेका छन् । कांग्रेसले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । तर लामा पक्षले विश्वासको प्रस्ताव केही दिनका लागि पर सार्न आग्रह गरेको छ ।

मुख्यमन्त्री बानियाले मंगलबार अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । तर लामा पक्षले पूर्वसहमति कार्यान्वयन नगरी विश्वासको मत प्रक्रियामा अघि बढ्न नहुने अडानमा रहेका बानियाँ नैतिक संकटमा परेका छन् । कांग्रेस–एमाले गठबन्धनबाट २० साउनमा मुख्यमन्त्री बनेका बानियाँलाई ६४ सांसदको समर्थन आवश्यक छ ।

तर कांग्रेसका १४ सांसद लामा पक्षमा उभिँदै असन्तुष्टि जनाइरहेकाले मुख्यमन्त्री बानियाँलाई बहुमत सुरक्षित गर्न चुनौती थपिएको छ। कांग्रेस शीर्ष नेतृत्वले लामालाई तारन्तार फोन गरेर हेटौंडा जान दबाब दिइरहेको छ । यदि लामा पक्षका सांसद हेटौंडा नगएमा विश्वासको मतसम्बन्धी प्रस्ताव अर्को दिनलाई सारिने भएको छ । बानियाँ र लामा दुवै संस्थापन पक्षका नेता हुन् ।