काठमाडौं – कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र रवि लामिछानेविरुद्ध आक्रमक ढंगले प्रस्तुत भएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने क्रममा उनले रास्वपा सभापति रविले सहकारी ठगेको स्वीकार गरिसकेको दाबी गर्दै रास्वपा सांसदलाई सुशासनको पाठ पढाउने नैतिक धरातल नभएको बताइन् ।
‘केही साथीहरू भर्खरै हामीलाई लोकतन्त्र, विधिको शासनको पाठ पढाएर संसद् बहिष्कार गरेर बाहिरिनुभयो । उहाँको सभापतिको विषयमा हिजो रुपन्देही अदालतले एउटा निर्णय पनि गरेको छ,’ उनले भनिन्, ‘उहाँले आफूलाई सहकारी ठगीको रकम उहाँको भागमा जति पर्छ–दुई करोड ७४ लाख ८४ हजारको बैङ्क जमानत रकम म त्यो तिर्छु मलाई बाहिरबाट मुद्दा लड्न दिइयोस् भनेर भन्नुभयो।’
रविले अदालतमा सहकारी ठगी गरेको स्वीकारेको पनि उनले दाबी गरिन्। ‘अदालतले त्यो कुरालाई अस्वीकार गरिदियो। रविजीले ठगेको स्वीकार गर्नुभयो, भाग शान्ति म तिर्छु भन्नुभयो। तर अदालतले छाड्न मानेन, त्यसमा धेरै कुरा थियो होला,’ न्यौपानेले भनिन् ।
रविले दिएको निवेदनमा सहकारी पीडितको रकम फिर्ता गर्नुपर्ने भएकाले आफूले बिगो बराबरको रकम तिर्न तयार रहेको उल्लेख गरेको पनि सांसद न्यौपानेले दाबी गरिन्। ‘त्यही कुरामा मैले के देखेँ भने सहकारी पीडितको पैसा यथाशीघ्र फिर्ता गर्नुपर्ने भएको हुनाले म यो काम गर्दै छु भन्ने पनि देखेँ, हेरे मैले,’ उनले भनिन्।
न्यौपानेले ‘बिगोबापतको रकम मुद्दाको छिनोफानो नहुँदै सहकारी पीडितले पाउँछ र ?’ भन्दै प्रश्न गरिन्। अदालतको धेरै निर्णय गरेको, एउटा मात्रै नभएर पाँचवटा अदालतले निर्णय गरेको उनले बताइन्। न्यौपानेले रास्वपा उपसभापति डीपी अर्याल भिजिट भिसामा विदेश मान्छे पठाउने, सांसद सोविता गौतम बलात्कारीको पक्षमा भाषण गर्ने, उपसभामुख इन्दिरा राना भिजिट भिसामा अमेरिका पठाउन चिठी लेखेर बदनाम भएको आरोप लगाइन् ।














प्रतिक्रिया