मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी विरुद्ध हालेको मुद्दामा सर्वोच्च अदालतले दियो रिट खारेजीको आदेश


काठमाडौं l सर्वोच्च अदालतले डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध दायर गरेको रिट खारेज गरेको छ। साथै, अदालतले यस प्रकरणमा निर्देशनात्मक आदेश पनि जारी गरेको छ।

रास्वपाबाट महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्य पदबाट हटाइएर साधारण सदस्यतासमेत खारेज गरिएका ढकालले उक्त निर्णय त्रुटिपूर्ण भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले सो निर्णय बदर गरी आफूलाई पुनः सो पदहरूमा बहाल गराउन माग गरेका थिए।

गत असार ११ गते दायर रिटमा उनले पार्टीको निर्णयअनुसार नयाँ महामन्त्री र प्रवक्ताको नाम अद्यावधिक नगर्न निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर माग राखेका थिए।

माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले दुवै पक्षको बहसपछि ढकालको मागबमोजिम रिट जारी नहुने ठहर गर्दै खारेज गर्ने आदेश दिएको हो।

यस प्रकरणमा रास्वपाका तर्फबाट वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, डा. दिनमणी पोखरेल, अधिवक्ता यज्ञमणी न्यौपाने, हेमराज उपाध्याय, नवराज पुडासैनी, गणेश दत्त देवकोटा, सुलभ खरेललगायतले बहस गरेका थिए। रिट निवेदक ढकालका तर्फबाट भने वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, राम नारायण बिडारी, सतिश कृष्ण खरेल, गोपाल कृष्ण घिमिरेलगायतले बहस गरेका थिए।