काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामेश कोइरालाले चिकित्सा पेसासँगै देश नै छाडेका छन् । उनी बुधबार बिहान विदेश लागेका छन् । कोइराला लामो समयदेखि गंगालाल हृदयरोग केन्द्रमा कार्यरत थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन दिएका कोइरालालाई सरकारले दुवैमा नियुक्त नगरेपछि उनी बुधबारै विदेश लागेका हुन् ।
सरकारले मगलबार चारवटा स्वास्थ्य प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको छ । कोइरालाले सामाजिक सञ्जालमा लेख्दै देश, पेसा र भूमिका सबै फरक भन्दै तस्बिरसमेत हालेका छन् । जसमा उनी परिवारका सदस्यसँग विदेश उड्न लागेको देखिन्छ । सामाजिक सञ्जाल एक्समा समसामयिक विकृति र विसंगतिका साथै चोटिला राजनीतिक स्टाटस लेख्ने कोइराला विभिन्न मिडियाका स्तम्भ लेखक पनि हुन् ।
उनले सुरुमा गंगालाल हृदयरोग केन्द्रको डाइरेक्टर बन्न चाहेका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको असहमतिले उनले नियुक्ति पाएनन् । अहिले उनकै मिल्ने साथी प्रदीप पौडेल स्वास्थ्यमन्त्री थिए । तर पनि पौडेलले कोइरालालाई बिपी र पोखरामध्ये एउटामा पनि उपकुलपति नियुक्त गर्न सकेनन् ।
कोइरालाले केही समयअघि मात्रै एलएलएम गरेका थिए । विदेशमा उनले कानुन व्यवसायीको प्राक्टिस गर्ने बुझिएको छ । लेखन र बोल्नमा अब्बल मानिएका कोइरालाले देश छाडेकोमा धेरैले चिन्ता व्यक्त गरेका छन् । देशले एउटा अब्बल मुटुरोग डाक्टर जोगाउन नसकेको टिप्पणी हुन थालेको छ । गत जेठ १४ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेलको नेतृत्वमा बनेको उपकुलपति सिफारिस समितिले असार ४ गते आवेदन आह्वान गर्दा चारवटा स्वास्थ्य प्रतिष्ठानमा ५५ जनाले दाबी पेस गरेका थिए ।
कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए । कांग्रेसको भागमा परेको बीपी प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । बीपी कोइराला प्रतिष्ठान १३ आवेदकमध्ये कांग्रेसका तर्फबाट डा. संगीतासिंह भण्डारी, डा. रोशन पोखरेल, डा. रामेश कोइराला र डा. प्रह्लाद कार्की मुख्य प्रतिस्पर्धीका थिए ।
श्रेष्ठ विवादास्पद मानिन्छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. रामेश कोइराला, डा. विधाननिधि पौडेल, डा. राजेश अधिकारी, डा. प्रेमराज ज्ञवाली, अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ र हाल निमित्त उपकुलपति रहेका डा. भरतबहादुर खत्री मुख्य उम्मेदवार थिए । तर खत्रीले बाजी मारेका छन् ।














प्रतिक्रिया