काठमाडौं – प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन प्रमुख प्रतिपक्षी दलको नेता संसद्मा उपस्थित हुने संसदीय परम्परा छ । विपक्षी दलका नेताले सम्बोधन गर्ने दिन पनि प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ । तर त्यो प्रचलनलाई प्रधानमन्त्री केपी ओलीले तोडेका छन् ।
त्यही भएर बुधबार प्रधानमन्त्री ओलीले सम्बोधन गरेका समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा उपस्थित थिएनन् । लगातार तेस्रोपटकसम्म प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन् ।
तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अपवाद छन् । प्रधानमन्त्रीले सम्बोधन गर्दा होस् वा विपक्षी दलका नेताले सम्बोधन गर्दा होस् देउवा जहिल्यै संसद् बैठकमा उपस्थित हुन्छन् । संसदमा कम उपस्थित हुने सांसदमा देउवा पनि पर्छन् । तर महत्वपूर्ण समयमा भने उनी पुग्ने गर्छन् । सकभर छुटाउँदैनन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका बेला देउवा संसद् पुगेका थिए । ओलीको सम्बोधन आधा भएको बेला संसद् भवन पुगेका देउवाले त्यसपछि सबै सम्बोधन सुने । सम्बोधन सकेर संसद्को रोस्ट्रमबाट फर्किँदै गर्दा ओलीले देउवासँग हात मिलाए । त्यसपछि केहीबेर दुवै नेता संसद्मा बसे । मन्त्रीसँग प्रश्नोत्तर शुरू भएपछि दुवै नेता उठेर हिँडे । प्रधानमन्त्री ओली, देउवासँगै अर्थमन्त्री विष्णु पौडेल पनि बैठक कक्षबाट बाहिरिए ।
संसदमा सम्बोधन गर्दै ओलीले कांग्रेस–एमाले गठबन्धन ०८४ सालसम्मै जाने बताए । ‘प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरूसमेत यस सरकारमा सहभागी छन्,’ ओलीले भने, ‘सरकार बनाउने संसद्को गणितले हो । बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ? अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी २०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’
०८१ असारमा कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका थिए ।२०८३ असारमा ओलीले कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमतिमा उल्लेख छ । जसमा निर्धारित समयभन्दा अगावै आफूले देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताइसकेका छन् ।














प्रतिक्रिया