काठमाडौं । सरकारले निकट भविष्यमै सञ्चालनमा आउने नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येकपटक आवतजावत गर्दा लाग्ने सवारी कर निर्धारण गरेको हो । जसअनुसार मिनी बस–ट्रक काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ ।
कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । भारी उपकरण बोकेको गाडी काठमाडौं आउँदा ६०० र जाँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ ।
सुरुङमार्गबाट मोटरसाइकल भने चलाउन पाइँदैन । हाल ९५ प्रतिशत भौतिक प्रगति रहेको सुरुङमार्ग आगामी मंसिरदेखि सञ्चालनमा आउने जानकारी दिइएको छ । प्रधानमन्त्री केपी ओलीले बुधबार संसदमा सम्बोधन गर्दै नागढुंगा सुरुङमार्ग निकट भविष्यमै सञ्चालनमा आउने बताएका थिए । सुरुङमार्ग चार किलोमिटर छ । काठमाडौंको नागढुंगाबाट धादिङको झ्याप्लेखोला पाँच मिनेटमै पुग्न सकिनेछ ।














प्रतिक्रिया