प्रधानमन्त्रीसँग सबै मन्त्रीले गरे कार्यसम्पादन सम्झौता


काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग दुई उपप्रधानमन्त्रीसहित सबै मन्त्रीले कार्यसम्पादन सम्झौता गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा एक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको हो । मन्त्रीहरूले अबको एक वर्षमा आफूलाई प्रधानमन्त्री कार्यालयले दिएको कामको रिपोर्ट कार्ड पेस गर्नुपर्ने छ । कार्यसम्पादन सम्झौता गर्नेमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल पनि छन् ।

यस्तै, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, शिक्षामन्त्री रघुजी पन्त, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, पर्यटनमन्त्री बद्री पाण्डे, रक्षामन्त्री मानवीर राई, खानेपानीमन्त्री प्रदीप यादव, सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेलगायत छन् । मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता भएपछि अब मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना सकिएको छ । केही समयदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरू हेरफेर गर्ने चर्चा थियो ।