बागमतीका मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना


काठमाडौं । बागमती नगर प्रमुख भरत थापासहित तीनजनालाई विशेष अदालतले सजाय निर्धारण गरेकाे छ । बिहीबार अदालतले मेयर थापासहित प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरलाई जनही १० कराेड ४० लाख रुपैयाँ बिगाेदाबी माग गरिएको छ । तीनैजनालाई जनही आठ वर्ष जेल सजाय ताेकिएकाे छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको बिहीबारको इजलासले मेयर थापासहित विमल कुमार पोखरेल र सागर पौडेललाई जनही आठ वर्ष कैद र १० करोड नौ लाख ७८ हजार २९९ रुपैयाँ जरिवाना तोकेको हो। पोखरेल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुन् भने पौडेल नगरपालिकाका योजना शाखा प्रमुख तथा इन्जिनियर हुन्।

थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी २७ चैत ०८० मा र हानि–नोक्सानी गरेको अभियोगमा २९ जेठ ०८१ मा दुई मुद्दा दायर भएका थिए। मेयर थापाका साथै पोखरेल र पौडेलले ३० करोड २९ लाख रुपैयाँभन्दा बढीको नदीजन्य पदार्थको नोक्सानी गरेको ठहर भएको छ।

गत बुधबार विशेषले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आंशिक ठहर तथा हानि–नोक्सानीमा कसुर कायमको फैसला गरेकोमा आज सजाय निर्धारण गरेको हो। मेयर थापाविरुद्ध सम्पत्ति शुद्धीकरण तथा वनसम्बन्धि मुद्दा समेत विचाराधीन छ।