एकीकृत समाजवादीले आज रामकुमारी झाँक्रीबारे निर्णय गर्ने


काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक शुक्रबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले महत्वपूर्ण निर्णय लिने नेताहरुले बताएका छन् ।

केही समयदेखि पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच तिक्तता उत्कर्षमा पुगेका बेला बस्न लागेको सचिवालय बैठकले पूर्वसचिव रामकुमारी झाँक्रीबारे निर्णय लिने भएको छ । झाँक्रीले अध्यक्ष नेपालबारे दिएको अभिव्यक्तिका कारण नेताहरु रुष्ट छन् । पार्टीले उनलाई माफी माग्न र दुईपटक स्पष्टीकरण सोधिसकेको छ । तर पनि अध्यक्ष नेपाल सन्तुष्ट हुन सकेका छैनन् ।

आजको छलफलको मुख्य एजेन्डा स्थायी कमिटी सदस्य झाँक्रीले दिएको अभिव्यक्ति र त्यसमाथि उनले गरेको आत्मालोचनाबारे छ। पार्टी अध्यक्ष नेपाललाई पतञ्जलीको जग्गा प्ररकणमा भ्रष्टाचारको मुद्दा लागेपछि झाँक्रीले पार्टी निकट युवासंघको प्रशिक्षण भेलामा मरेको सिनो बोकेर हिँड्न नसक्ने भन्ने अभिव्यक्ति दिएकी थिइन्। उनले त्यतिबेला अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकी थिइन्। त्यसबारेमा एकीकृत समाजवादीले झाक्रीलाई स्पष्टीकरण सोधेको थियो।

आजको बैठकमा वरिष्ठ नेता वामदेव गौतमको जिम्मवारीबारे छलफल हुने भएको छ । एक महिनाअघि एकीकृत समाजवादी प्रवेश गरेका वामदेवले आफूलाई जिम्मेवारी नदिए पार्टीमा नबस्ने धम्की दिएका थिए ।

यस्तै, बैठकमा पार्टी एकताका विषयमा अन्य दलहरूसँगको छलफलका विषयबारे पनि जानकारी गराइने भएको छ । एकीकृत समाजवादी र माओवादीबीच पार्टी एकताबारे संवाद तीव्र चलेको छ ।