काठमाडौं । रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल आफ्नो रिट खारेज गर्ने सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीमाथि खनिएका छन् । उनले हिजो रास्वपा सभापति रवि लामिछानेलाई जेल पठाउन आदेश दिने र अहिले आफ्नो रिट निवेदन खारेज गर्ने एउटै न्यायाधीश भएको भन्दै आक्रोश पोखेका छन् ।
ढकालले पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर गर्ने न्यायाधीश र आफ्नो रिट निवेदन खारेज गर्ने न्यायाधीश एकै रहेको पनि उल्लेख गरेका छन्। ‘रवि दाइलाई पुर्पक्षमा थुन्ने उच्च अदालतको आदेशलाई सदर गर्ने र मेरो रिट खारेज गर्ने न्यायाधीश एकै व्यक्ति हुन्। हिजो रवि दाइलाई थुन्दा ‘झोले’ न्यायाधीश ठहरिने र आज मेरो रिट खारेज गर्दा ‘महान्’ ठहरिने– यस्तो हुँदैन, यसरी सोच्नु पनि हुँदैन। हिजो पनि आज पनि, अदालत सही नै छ। न्यायाधीशहरू न्यायमूर्ति नै हुन्।’
रास्वपाले २०८१ भदौ ११ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि संस्थापक महामन्त्री ढकालले आफूलाई यही पदमा कायम गरी पाऊँ भनी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले उनको मागदाबी नपुग्ने ठहर गरी आदेश जारी गर्न अस्वीकार गरेको हो । गत जेठ ९ गते रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेश सदर गर्ने सर्वोच्चको इजलासमा बालकृष्ण ढकालसँगै न्यायाधीश नहकुल सुवेदी पनि थिए ।
ढकालले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ आएपछि पार्टीमा फर्किन कानुनले दिएको अन्तिम अवसरसम्म लडाइँ लड्ने बताएका छन् । ‘सम्मानित सर्वोच्च अदालतले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ । फैसलाको पूर्ण पाठ आइसकेको छैन । यसलाई प्राप्त गर्न केही समय लाग्नेछ। पूर्ण पाठ प्राप्त भएपछि म आवश्यक कदमहरू चाल्नेछु । तर कानुनले दिएको अन्तिम अवसरसम्म म आफ्नो लडाइँ जारी राख्नेछु । पुरानो पार्टीबाट म्यान्डेट लिई ‘गंगा स्नान’ गर्न पार्टीमा आएका रहस्यमयी आगन्तुकहरूको कब्जाबाट पार्टीलाई बचाउन म अन्तिमसम्म प्रयास गर्नेछु,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
सर्वोच्चको आदेशसँगै ढकालको रास्वपा महामन्त्रीमा फर्किने सपनामा तुषरापात लागेको छ । निर्वाचन आयोगले पनि रास्वपाको पार्टी केन्द्रीय समितिको सूची अद्यावधिक गरेको छ । जसमा महामन्त्री कविन्द्र बुर्लाकाटी रहेको उल्लेख छ ।














प्रतिक्रिया