लामा पक्षलाई बाइपास गर्दै बागमतीमा पाँच मन्त्री नियुक्तिको तयारी


काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको भागमा बाँकी रहेका पाँच मन्त्री शुक्रबार नै नियुक्त गर्ने भएका छन् ।

निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई मन्त्रिपरिषदमा सामेल गर्नुपर्ने मागलाई बेवास्ता गर्दै मुख्यमन्त्री बानियाँले कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

वादे काभ्रे, नेपाल ललितपुर, श्रेष्ठ भक्तपुर, तामाङ रसुवा र रायमाझी चितवनकी हुन् । यसअघि कांग्रेसबाट कृष्ण तामाङ सिन्धुपाल्चोक र शिवराज अधिकारी धादिङका मन्त्री नियुक्त भइसकेका छन् ।

पाँचैजनालाई शुक्रबार नै हेटौँडा बोलाइएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार मन्त्रिपरिषद् विस्तारबारे औपचारिक नाम अझै प्राप्त नभए पनि आजै नियुक्ति र शपथग्रहण समारोह हुने सम्भावना रहेको छ । लामाले सपथ खुवाउनुपर्ने भनिएका तीन सांसदलाई अर्को सरकारमा मन्त्री बनाइने आन्तरिक सहमति भएको छ ।

हाल बागमती सरकारमा मुख्यमन्त्री बानियाँसहित कांग्रेसका तीन र एमालेका ६ जना मन्त्री छन् । कांग्रेस एमालेबीचको राजनीतिक सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित आठ र एमालेले छ मन्त्रालयको नेतृत्व गर्ने भागबन्डा तय भएको थियो । एमालेको तर्फबाट ६ जना मन्त्री बनिसकेको भए पनि कांग्रेसको भागमा रहेको पाँच मन्त्रालय अझै रिक्त छन् । कांग्रेसभित्रको किचलोका कारण सरकारले पूर्णता पाउन सकेको छैन ।