पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा आएपछि डा.शर्मा खुसी


काठमाडौं – नेपाली कांग्रेसका सांसद एवं नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिलकुमार शर्माले १९ वर्षदेखि अड्किएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन् । वर्र्षौदेखि कागजी प्रक्रियामै अड्किएको मेडिकल कलेज कोशी प्रदेशमा कोशेढुंगा सावित हुने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय सञ्चालनमा आएसँगै आफूले चुनावमा व्यक्त गरेको प्रतिबद्धता पूरा भएको उनको भनाइ छ । ‘वर्षौँदेखि केवल कागजी प्रक्रियामै अड्किएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज अब अन्ततः सञ्चालनमा आएको छ। यो उपलब्धि मोरङ क्षेत्र ३ र सम्पूर्ण कोशी प्रदेशको इतिहासमा एक गौरवपूर्ण कोशेढुंगा हो । आज मोरङका जनतासँग गरेको मेरो एक ठोस प्रतिबद्धता पनि पूरा भएको छ, त्यस्तो प्रतिबद्धता, जसले आमनागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा सहजता, पहुँचता र दिगोपन अभिवृद्धि गर्नेछ,’ शर्माले भनेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय सञ्चालनमा ल्याउन भूमिका खेलेको भन्दै नेता शर्माले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. शेखर कोइराला, माओवादी नेता गोपी आछामी, कांग्रेस नेता रमेशजंग रायमाझी, सांसद मानबहादुर लिम्बूलगायतप्रति आभार व्यक्त गरेका छन् । उनले अब कोशी प्रदेशमा शिक्षा तथा अनुसन्धानको नयाँ युगको सुरुवात हुने, प्रदेशका लाखौँ नागरिकले आफ्नै घरआँगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र हजारौँ युवाले रोजगारी पाउने उनको भनाइ छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्न दिने निर्णय गरेसँगै पूर्वाञ्चल विश्वविद्यालयलाई १९ वर्षपछि मेडिकल कलेज सञ्चालनको बाटो खुलेको हो। कोशी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई शैक्षिक अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको ठिक एक वर्षपछि मन्त्रिपरिषद्ले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गरेको छ। मन्त्रिपरिषद्को निर्णयले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज खोल्ने योजनाले १९ वर्षपछि मूर्तरुप पाएकोमा मोरङ क्षेत्र नम्बर ३ र ६ का स्थानीय खुसी भएका छन् ।