काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले मनोहरास्थित सुकुम्बासी बस्तीमा बनेका झन्डै एक दर्जन नयाँ घर भत्काएको बताएका छन् ।
शुक्रबार बिहान महानगर प्रहरी बलले डोजरसहित गएर सुकुम्बासी बस्तीको नयाँ संरचना भत्काएको थियो । आफ्ना घरका संरचना भत्काएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै सुरक्षाकर्मीमाथि ढुगामुढा प्रहार गरेका थिए ।
मनोहरा क्षेत्रमा दर्जनौं घरपरिवार बाहिरबाट आएर सुकुम्बासीका रूपमा बसेका छन् । महानगर प्रहरी बलले घर भत्काएपछि सुकुम्बासी बस्तीमा रुवाबासी चलेको थियो । काठमाडौंका मेयरले थापाथली, शंखमूल र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती हटाउन निकै चाहेका थिए । धेरैपटकको प्रयासमा शुक्रबार डोजर चलेको हो ।
नगर प्रहरी प्रमुख पाण्डेले कुनै व्यक्तिको जग्गाको लालपुर्जा एउटा समितिले कब्जा गरेर विभिन्न व्यक्तिलाई पाँच लाखसम्ममा बिक्री गरेको पाइएको बताए ।
‘कुनै व्यक्तिको लालपुर्जा एउटा समितिले कब्जा गरेर विभिन्न मान्छेहरूलाई २–४ लाख लिएर घर बनाउन दिएको पाइयो । यहाँ घर भत्काइएकोलाई सोध्दा उनीहरूले पनि दुई लाखदेखि पाँच लाखसम्म जग्गाको पैसा दिएर घर बनाएको भनेका छन् । त्यसैले नयाँ बनाएको ८–१० वटा घर भत्काएको हो,’ पाण्डेले पत्रकारहरुसँग भने ।














प्रतिक्रिया