फिल्म “बलिदान” को टिजर सार्वजनिक भएको छ । १ मिनेट ५० सेकेन्डको टिजरमा समाजमा फैलिएको भ्रष्टाचार, देशद्रोह, हत्या र हिंसाविरुद्ध लड्ने एक युगपुरुषको उदयलाई प्रस्तुत गरिएको छ ।
सन्तोष सेन निर्देशित र दर्शन जीले लेखेको फिल्मलाई पवन ब्रोडफोर्ड विष्टले निर्माण गरेका हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।
टिजरमा मुख्य नायक समीर भट्टलाई दमदार एक्सन अवतारमा देखाइएको छ । निर्माणपक्षले उनलाई ‘एक्सन किङ्ग’को उपाधि समेत दिएको छ । उनका संवाद र एक्सन दृश्यहरूले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
फिल्ममा सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, हेमन्त वुढाथोकी, कविता राय, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय समावेश छ । महेश पौडेलले छायांकन, सुजन चापागाईंले संगीत, स्टनर साम र श्री श्रेष्ठले एक्सन निर्देशन, र सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन् ।
नायक समीर भट्टले सामाजिक सञ्जालमार्फत ‘बलिदान’ आफ्नो लागि विशेष फिल्म रहेको बताएका छन् । यसलाई बक्स अफिसमा आक्रामक सुरुवात गर्ने अपेक्षा गरिएको छ । फिल्म दशैंको फूलपातीमा रिलिजमा आउने छ ।














प्रतिक्रिया