काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने भ्रमणका लागि आइतबार बिहान उनी नेपाल आएका हुन् ।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार मिश्रीको भ्रमण तालिका सार्वजनिक गरेका छन् । विदेशसचिव भएपछि उनी दोस्रोपटक नेपाल आएका हुन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विदेश सचिव मिश्रीका अधिकांश भेटवार्ता आइतबारै हुनेछन् । आइतबार नै नेपाल र भारतका परराष्ट्र सचिवहरूबिच औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक अन्य विषयलगायत नेपाल–भारत साझेदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशसचिव मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
स्रोतका अनुसार उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । प्रधानमन्त्री ओली भदौ अन्तिममा भारतको औपचारिक भ्रमणमा जाने तय भएको छ ।
ओलीले अनौपचारिक निम्तो पाइसकेका छन् । औपचारिक निम्तोका लागि विदेश सचिव मिश्री नेपाल आएका हुन् ।














प्रतिक्रिया