काठमाडौं – लामो समयदेखि प्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा रेकर्ड तोड्नेगरी धमाका मच्चाएको छ। सार्वजनिक भएको २४ घण्टामै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गर्दै नेपाली चलचित्र इतिहासमै छोटो समयमा यति ठूलो डिजिटल प्रतिक्रिया पाउने टिजरमध्ये एक बनेको छ।
सामान्यतया गीत वा ट्रेलरले बढी भ्युज पाउने भए पनि ‘बलिदान’ को टिजरले असाधारण लोकप्रियता कमाएको छ। यस उपलब्धिको प्रमुख कारण कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुतिलाई मानिएको छ।
देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहित प्रस्तुत टिजरले दर्शकलाई रोमाञ्चित बनाएको छ। विशेषगरी समीर भट्टलाई ‘एक्सन किङ’ को परिचय दिँदै देखाइएको दृश्य र उनको दमदार संवाद — “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ।” — सामाजिक सञ्जालमा व्यापक रूपमा ट्रेन्डिङ बनेको छ। यस संवादले युवापुस्तामा ऊर्जा र गर्व जागेको प्रतिक्रियाहरू आएका छन्।
सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायतका कलाकारको सशक्त अभिनयले पनि टिजरलाई थप उचाइमा पुयाएको छ।
यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक गरिएको प्रि-टिजर नै नेपालसहित विदेशमा युट्युब ट्रेन्डिङमा पुगेको थियो। अहिलेको टिजरले त्यो अपेक्षालाई अझै माथि पुर्याउँदै ‘बलिदान’ प्रति दर्शकको प्रतीक्षा चरम उत्कर्षमा पुगेको स्पष्ट संकेत गरेको छ।
चलचित्र आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको हो। पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको यस चलचित्रलाई बडादसैँको फूलपातीका दिन प्रदर्शनमा ल्याइने तयारी गरिएको छ।














प्रतिक्रिया