इजरायलमा बोल्दाबोल्दै भक्कानिइन् विपीनकी बहिनी पुष्पा


काठमाडौं – दाजु विपीन जोशीको रिहाइको माग गर्दै इजरायल पुगेकी पुष्पा जोशी बोल्दाबोल्दै भक्कानिएकी छन् । झन्डै दुई वर्षदेखि विद्रोही हमास समूहले विपीनलाई बन्धक बनाएर राखेकोमा उनको अवस्था बुझ्न र रिहाइका लागि आवाज उठाउन पुष्पा आमासँगै इजरायल पुगेकी छन् ।

इजरायलको टेल अविभरको होस्टेज स्क्वायरमा भावुक सम्बोधन गर्दै भनिन्, ‘प्रार्थनाले मात्र पुग्दैन ।’

उनले आफ्नो दाजुका लागि न्याय र स्वतन्त्रता मागिन्। ‘मेरो दाजु तेस्रो पक्षको कुनै लडाइँमा फसेको विद्यार्थी हो। हामी नेपालमा भाषा, संस्कृतिले अलग भएका थियौं र डरले घेरिएका थियौं। प्रार्थना मात्र गर्यौं, तर प्रार्थनाले मात्र पुग्दैन,’ भावुक हुँदै पुष्पाले भनिन् । उनले अंग्रेजीमा सम्बोधन गरेकी थिइन् । सम्बोधनकै क्रममा उनी पटकपटक रोएकी थिइन् ।

पछिल्लो समय सार्वजनिक भएका अन्य बन्धकहरूको जस्तै रोग लागेर नाजुक अवस्थामा रहेको भिडियोले आफूलाई प्रभावित बनाएको पुष्पाले बताइन्। ‘हामी ध्वस्त भयौं, आमाबाबु निकै दुःखी छन् र धेरेचोटि सम्हाल्नै गाह्रो छ,’ उनले भनिन् ।

निकै भावुक हुँदै पुष्पाले भनिन्, ‘तिमीलाई धेरै माया गर्छु, दाजु। आशा नछोड, बलियो रह, बाँचिरहू ।’ उनले विपीनको सुरक्षित र छिट्टै घर फिर्ताका लागि सबैसँग सहयोगको अपिल गरिन्। कार्यक्रममा सहभागीहरू नेपाली झण्डा लिएर पुगेका थिए ।