काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा पाँच अर्ब ३९ करोड ५० लाख रुपैयाँले घटेको छ । प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ हटाएर हितेन्द्रदेव शाक्य ल्याएसँगै नाफा घटेको हो ।
चार महिनाको अवधिमा नाफा अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आइतबार प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार नाफा घट्नुको मुख्य कारण विदेशी मुद्रा विनिमय दरमा भएको वृद्धि र ‘अवास्तविक असुलीयोग्य रकमका लागि प्रावधान बढाइएको’ लाई देखाइएको छ ।
प्राधिकरणले लिएको विदेशी ऋण भुक्तानी गर्नुपर्दा अमेरिकी डलरलगायत विदेशी मुद्राको विनिमय दरमा भएको वृद्धि र ट्रंक तथा डेडिकेटेड बक्यौता नउठाएर त्यसका लागि राखिएको प्रावधानका कारण नाफा घटेको हो । तर ग्लोबल इकोनोमीका अनुसार अघिल्लो वर्ष र गत वर्षको तुलनामा अमेरिकी डलरको विनिमय दरमा २.९९ प्रतिशत मात्र वृद्धि भएको छ ।
अघिल्लो वर्ष प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा (करअघि) कमाएको थियो । गत वर्ष भने यस्तो नाफा नौ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ । दुई वर्षअघि प्राधिकरणको नाफा एक अर्ब २३ करोड रुपैयाँले वृद्धि भएको थियो । यो वृद्धि १०.१९ प्रतिशत थियो ।
हिेतेन्द्रदेवको चार महिने कार्यकालमा यस्तो नाफा ३७.३२ प्रतिशतले घटेको प्राधिकरणको वार्षिक प्रतिवेदनमा छ । यसबाहेक प्राधिकरणले नाफा घट्नुका दोष ‘ग्रामीण इकाइहरुको हस्तान्तरणका कारण प्रशासनिक खर्चमा भएको वृद्धि’ लाई पनि देखाएको छ ।
महालेखापरीक्षकका अनुसार प्राधिकरणले २२ अर्ब ८० करोड रुपैयाँ ट्रंक तथा डेडिकेटेड लाइनबापतको बक्यौता उठाउन बाँकी छ ।
गत आर्थिक वर्षमा १७ अर्ब ४५ करोड रुपियाँको विद्युत् निर्यात गरेकोमा चालु आर्थिक वर्ष २०८२–८३ को अन्त्यसम्ममा दोब्बर बनाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । इन्डियन इनर्जी एक्सचेन्ज, भारतमै मध्यमकालीन सम्झौता र बङ्गलादेश निर्यातसमेत गरी करिब ३५ अर्ब रुपियाँ बराबरको विद्युत् निर्यात गर्ने योजना अनुसार गृहकार्य भइरहेको प्राधिकरणले जनाएको छ














प्रतिक्रिया