रविले नख्खु कारागारमा पाए सिंगल रुम, अन्य सुविधा आफैंले व्यवस्था गर्नुपर्ने


काठमाडौं – रास्वपा सभापति रवि लामिछाने ललितपुरस्थित नख्खु कारागारमा सिंगल रुम पाएका छन् । कारागारको सिआरसी ब्लकमा शनिबार राति ४१४ कैदीबन्दीसँगै बसेका रविले आइतबार सिंगल रुम पाएका हुन् ।

नख्खु कारागारका जेलर भीम कोइरालाले पूर्वगृहमन्त्री लामिछानेको सुरक्षा र स्वास्थ्यलाई ख्याल गरेर एउटा बेडसहितको रुम उपलब्ध गराइएको जानकारी दिएका छन् ।

कोठामा एसी वा पंखालगायतका सुविधा रवि आफैँले व्यवस्था गर्नुपर्ने, कि सरकारले छुट्टै बजेट दिनुपर्ने उनको भनाइ छ ।
अत्यधिक गर्मी रहेको भैरहवा कारागारमा रविलाई दुईवटा पंखासहितको रुम सुरुबाटै दिइएको थियो । उनलाई फोन र छुट्टै शौचालयको सुविधा पनि दिइएको थियो । साथै, खानपिनको व्यवस्था पनि रविकै रोजाइमा रहेको बताइन्छ ।

आफ्नै चाहनाअनुसार रविलाई शनिबार साँझ जेल सरुवा गर्दै काठमाडौं ल्याइएको थियो । अब नख्खु कारागारमै रहेर रविले आफूविरुद्ध अदालतमा रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लड्नुपर्ने छ । उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा विचाराधीन छ ।