एमाले र कांग्रेसले एक्कासि बोलाए सांसदहरूको मिटिङ, उपसभामुख रानाको पद दाउमा


काठमाडौं – सत्तारुढ एमाले र कांग्रेसले एकाएक आफ्ना सांसदहरूलाई संसदीय दलको कार्यालयमा बोलाएका छन् । जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे दलको कार्यालयमा उपस्थित हुन सूचना पठाएको छ । छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन ।

कांग्रेसले पनि आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ । १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने छ ।

कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव लैजाने छलफलसमेत भइरहेकाले सांसदहरूलाई हस्ताक्षरका लागि बोलाइएको अनुमानसमेत गरिएको छ । उपसभामुख रानामगरले संसद् सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले उनीमाथि महाअभियोग प्रस्ताव आकर्षित हुने देखिन्छ । तर अहिलेसम्म केही खुलेको छैन ।

यसअघि पनि रानालाई कारबाही हुनुपर्ने माग उठेको थियो । तर कांग्रेस सभापति शेरबहादुर देउवाले अनिच्छा देखाएपछि रोकिएको थियो । तर रास्वपा संसदमा चाहिने भन्दा बढी अनुदार भएपछि कांग्रेस प्रतिवादमा उत्रिने देखिएको छ ।