काठमाडौं l पाँचखालमा सञ्चालनको तयारी भएको Asphalt Batching Plant (अलकत्रा उद्योग) विरुद्ध स्थानीयवासीले तीव्र आपत्ति जनाएका छन्। उनीहरूले यस उद्योगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर प्रतिकूल असर पार्ने भन्दै तत्काल रोक्न माग गरेका छन्।

स्थानीयहरूको भनाइमा, उद्योग स्थापनाको प्रक्रियामा नगर प्रमुख, वडा अध्यक्ष र सम्पूर्ण कार्यपालिका सदस्यको प्रत्यक्ष संलग्नता र जिम्मेवारी छ। तर आज आएर “हामीलाई थाहा थिएन” भन्ने शैलीमा पन्छिन खोज्नु जवाफदेहिताबाट पलायन गर्ने प्रवृत्ति भएको उनीहरूको आरोप छ।
“जनताको जीवन र भविष्यलाई जोखिममा राखेर केही व्यक्ति वा समूहको स्वार्थका लागि यस्तो उद्योग ल्याउन पाइँदैन,” पाँचखालबासीले चेतावनी दिएका छन्। उनीहरूका अनुसार यस उद्योगका पक्षमा स्थानीयवासी, संघ–संस्था वा कुनै पनि राजनीतिक दल छैनन्, बरु सबै सचेत नागरिक र सरोकारवाला यसको विरोधमा उभिएका छन्।

स्थानीयहरूले प्रश्न उठाएका छन्—के पाँचखालबासीले आफ्नो मृत्यु रोज्नुपर्ने हो ? के भविष्य अन्धकारमा धकेल्नुपर्ने हो? के भावी पुस्ता पलायन हुनुपर्ने अवस्था सिर्जना गर्नुपर्ने हो? उनीहरूले सोधेका छन्, “यो उद्योग पाँचखालमै राख्नुपर्ने कसलाई, र किन आवश्यक परेको हो?”
स्थानीयवासीहरूले चेतावनी दिँदै भनेका छन् कि, यदि यो निर्णय खारेज नभए, जनताले चाँडै यसको राजनीतिक मूल्याङ्कन गर्नेछन्।















प्रतिक्रिया