काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले पार्टी राजनीति गर्न रोक लगाए पनि उनी भने सक्रिय हुन थालेकी छन् । कोशी प्रदेशका एमाले नेता कार्यकर्ताको भेटघाटका क्रममा उनी विराटनगर पुगेकी छन् ।
सोमबार विराटनगर पुगेर उनले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा छलफल गर्न आवश्यक नरहेको बताएकी छन् । ‘म एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचनाभन्दा मुक्त छैन,’ उनले भनिन्, ‘कोही पनि छैन । यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन ।’
भण्डारीले राजतन्त्र र गणतन्त्र फरक व्यवस्था भएको बताउँदै भनिन्, ‘राजा व्यक्ति हो । राष्ट्रपति एउटा पद हो । आवधिक हुन्छ । जोसुकै जनताको छोराछोरी निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन् । उनीहरू कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्छन् ।’
पूर्वराष्ट्रपति भण्डारीले पार्टीले कुनै भूमिका नदिए पनि आफू एमालेको संगठित सदस्य भएको बताइन् । पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको दाबी छ । ‘४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको, विराटनगरमै मैले शपथ खाएकी हुँ, मोरङ जिल्लामै,’ उनले भनिन्, ‘राष्ट्रपतिमा निर्वाचित हुँदा पार्टी सदस्य लिएको ३५ वर्ष भएको थियो, र मलाई पार्टीले निर्णय गरेर तपाईं जानुपर्छ भनेर पठाएको हो ।’
भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफू पार्टीको राजनीतिमा फर्किएको दोहो¥याइन् । ‘हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हुँ, पार्टीले निर्णय गरेर पठाएको हो र आज पनि म एमालेमै छु । पार्टीको औपचारिक कुरा के छ, मलाई थाहा भएन । म केन्द्रमा छैन,’ उनले भनिन् । वाम एकताबारे बलियो सम्भावना नरहेको, तर सम्भावना नै नभएको भन्न नमिल्ने उनले ठोकुवा गरिन् ।
काठमाडौँको नयाँ बानेश्वस्थित थापागाउँमा भण्डारीको सम्पर्क कार्यालय तयार हुँदैछ । ‘मदन भण्डारी हीरक जयन्ती मूल समारोह समिति’को कार्यालयसमेत रहने उक्त घरमा आगामी भदौ ५ गते भव्य उद्घाटन कार्यक्रम आयोजना गरिँदै छ ।














प्रतिक्रिया