रवि लामिछानेलाई जेल पठाउन स्वर्णिम वाग्लेको हात, अब डीपी अर्याल पनि खतरामा : मुकुल ढकालको नयाँ खुलासा


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्काशित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेमाथि गम्भीर आरोप लगाएका छन्। उनले वाग्लेको योजनामार्फतै सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा फसाइएकै कारण अहिले जेलमा परेको दाबी गरेका हुन्।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढकालले भने:
“रवि दाईलाई मैले सुरुमा नै सुझाव दिएको थिएँ – आफूलाई सहकारीको ऋणी कायम गरेर बिगो तिरिदिनुहोस्, यसरी विषय टुंगिन्छ। तर वाग्लेले उचालेर उहाँलाई ‘म सहकारीको सदस्य नै होइन’ भन्न लगाइदिए। त्यसपछि त झन् फस्न गयो।”

ढकालका अनुसार, लामिछानेलाई जेल पठाउने र त्यसकै आधारमा सत्ता कब्जा गर्ने ‘ग्राण्ड डिजाइन’ पार्टीभित्रैबाट भएको हो। उनले वाग्लेले लामिछानेलाई फसाएर आफू मन्त्री–प्रधानमन्त्री बन्ने योजनामा लागेको आरोप लगाए।

ढकालले थपे:
“सबैभन्दा सुरुमा गल्ती रवि दाईकै थियो। तर वाग्लेलगायतको गलत सल्लाहले उहाँलाई अझै गहिरो खाल्डोमा पुर्‍यायो। सहकारीको सदस्य भएको, ऋण लिएको र त्यसलाई तिर्ने भनिएको भए आजको स्थिति आउने थिएन।”

त्यसैगरी, ढकालले वाग्लेलाई ‘विदेशी दलाल’को संज्ञा दिँदै उनले मनरो डक्ट्रिनको समर्थन गरेको, नेपाली सेनाको संख्या घटाउनुपर्ने धारणा व्यक्त गरेको र नेपाललाई भुटानजस्तै बनाउन खोजेको जस्ता राष्ट्रघाती गतिविधि गरेको आरोप पनि लगाए।

ढकालले वाग्लेको अर्को निशाना पार्टीका अर्का उपसभापति डोलप्रसाद (डीपी) अर्याल भएको दाबी गर्दै भने,
“वाग्लेले मलाई भिजिट भिसा प्रकरणमा फसाउन खोजे, अहिले डीपी अर्यालमाथि पनि प्रहार भइसकेको छ। गल्ती र कमजोरीलाई आधार बनाएर उनलाई समेत हटाउने तयारी भइरहेको छ। यदि रवि दाई छैनन्, म छैनँ, डीपी अर्याल पनि हटाइए भने पार्टी कुन नेताको कब्जामा जान्छ?”