रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन्– ठूला दलका सांसदहरूले खाली कागजमा हस्ताक्षर गरेर लोकतन्त्रको खिल्ली उडाए


काठमाडौं । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले ठूला दलका सांसदहरूले खाली कागजमा हस्ताक्षर गरेर लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाएका छन् ।

सत्तारुढ एमाले संसदीय कार्यालय सिंहदरबारमा अहिले सांसदहरुले धमाधम हस्ताक्षर गरिरहेका छन् । हस्ताक्षर के प्रयोजनका लागि हो भन्ने खुलाइएको छैन । एमाले सांसदहरू दलको कार्यालयमा पुग्ने क्रम जारी छ ।

यस्तै, साढे १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा सांसदहरूलाई बोलाइएको छ । त्यसअघि यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ ।
उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षर अभियान सुरु भएको हल्ला फैलिएसँगै रास्वपा महामन्त्री बुर्लाकोटीले सामाजिक सञ्जालमार्फत पहिलो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘ठुला दलका सांसदहरु धमाधम खाली कागजमा हस्ताक्षर गर्दै, लोकतान्त्रको खिल्ली।’ उपसभामुख रानामगरले संसदीय सचिवालयको लेटरप्याडमा अमेरिका जाने व्यक्तिहरुको अन्तर्वार्ता लिइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा उनीमाथि महाअभियोगको प्रक्रिया अघि बढाइएको बुझिएको छ ।