काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो कारण रुपन्देही ३ को उपनिर्वाचनमा दल दर्ता नभएको दाबी गरेका छन् । उनले यसमा आफ्नो कुनै कमजोरी नभएको बताएका छन् ।
आफू अध्यक्ष पनि नभएको बताउँदै उनले केन्द्रीय समिति बैठक राखेर किन निर्णय नबुझाएको भनेर अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमाथि प्रश्न गरेका छन् ।
‘निर्वाचन प्रयोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ? केन्द्रीय समितिको बैठक बसाएर निर्णय बुझाए भैहाल्थ्यो त । न केन्द्रीय समितिको बैठक बसाउने, न लेखापरीक्षण गराउने, न पार्टीलाई चलायमान बनाउने ? अनि दोष जति मेरो थाप्लोमा थुपारेर आफू चोखो बन्ने ? अहिले पनि तुरुन्त केन्द्रीय समितिको बैठक बोलाए भैहाल्यो नि । बाँकी मनोनीत साथीहरूलाई अध्यावधिक गराइदिनु, टण्टै साफ,’ रेशमले भनेका छन् ।
चौधरीले रुपन्देही ३ मा नाउपाको उम्मेदवार उठ्ने पनि दाबी गरेका छन् । ‘रुपन्देही ३ मा हाम्रो उम्मेदवार उठ्छ । म राजनीतिक ब्यक्ति हो । यही सातादेखि प्रचारप्रसारमा खटिन रुपन्देही आउँछु। समस्या समाधान तिर लागौं । पार्टी विभाजनका सहयोगीलाई दलबाट मात्रै होइन, समूहबाटै बहिष्कार गरौं,’ उनले भनेका छन् ।
निर्वाचन आयोगले रुपन्देही ३ को उपनिर्वाचनमा नाउपाले भाग लिन नपाउने निर्णय गरेपछि सो दलमा आन्तरिक किचलो अझ बढेको छ । नाउपाले उपनिर्वाचन प्रयोजनार्थ दल दर्ता नगरेकाले चुनावमा वञ्चित भएको हो ।














प्रतिक्रिया