घाम देख्न नपाएका रविलाई भिटामिन डीको कमी


काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उनको रगत परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टरमा नमुना पठाइएको थियो ।

डा. जितेन्द्र यादवसहितको स्वास्थ्यकर्मी टोलीले नमुना संकलन गरेको थियो । अस्पतालका अनुसार रगत परीक्षणमा भिटामिन डीको मात्रा कम देखिएको छ ।

खानपानमा असन्तुलन र घाममा कम समय बिताउँदा यस्तो भएको हुनसक्ने डाक्टरले बताएका छन् । मंगलबार चिकित्सकहरू रिपोर्टसहित स्वास्थ्य परामर्श दिन नख्खु कारागारमा जाने तयारी गरेका छन् ।

चिकित्सकहरूका अनुसार, भिटामिन डीको कमीले हड्डीसम्बन्धी समस्या निम्त्याउनुका साथै रोग प्रतिरोधी क्षमता कमजोर बनाउँछ । यसले हातखुट्टा झमझमाउने, थकान महसुस हुने र कपाल झर्ने जस्ता लक्षण देखिन सक्छन् ।

लामिछानेलाई तीन दिनअघि भैरहवा कारागारबाट स्थानान्तरण गरी नख्खु कारागार ल्याइएको थियो । उनलाई १२६ दिनसम्म भैरहवा कारागारमा थिए ।