नेपाललाई बेवास्ता गर्दै लिपुलेक पासबाट व्यापार खोल्ने चीन र भारतको सहमति


काठमाडौं । नेपालको भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न भारत र चीन सहमत भएका छन्। लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको नेपालको भूमि हो। नेपाललाई कुनै जानकारी नै नदिई चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापारलाई खोल्ने सहमति भएको हो। १० वर्षको अन्तरालपछि भारत र चीनले एकपटक फेरि नेपालको भूमि लिपुलेक हुँदै व्यापारको कुरा गरेका छन् । २०७२ मा भारत र चीनका प्रधानमन्त्रीबीच लिपुलेक पासबाट व्यापार गर्ने सहमति भएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २०१५ मे १४ मा चीन भ्रमण गएका बेला समकक्षी ली खछियाङबीच लिपुलेक नाकाबाट द्विदेशीय व्यापार अभिवृद्धि गर्ने सहमति भएको थियो । त्यतिबेला जारी संयुक्त वक्तव्यको बुँदा नम्बर २८ मा उक्त सहमतिको कुरा उल्लेख थियो । त्यसबेला प्रधानमन्त्री सुशील कोइरालाले यो सहमतिको विरोध गर्दै चीन र भारतलाई कूटनीतिक नोट पठाएका थिए । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री यीले भाद्र २ र ३ गते भारत भ्रमण गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार राति द्विपक्षीय सहमतिका विषयहरूमा लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने कुरा उल्लेख छ। भारतीय विदेशमन्त्री एस जयशंकरसँगको द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो। विदेश मन्त्रालयद्वारा जारी सहमतिको बुँदा नम्बर ९ मा सीमा व्यापार खोल्ने विषय उल्लेख छ ।

त्यहाँ भनिएको छ– ‘दुईटै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमत भए ।’ प्रधानमन्त्री केपी ओलीको आसन्न भारत र चीन भ्रमणअघि यस्तो सहमति भएपछि नेपालमा त्यसको विरोध भइरहेको छ । दुई ठूला छिमेकी देशले सानो देशको भूमिबाट द्विपक्षीय व्यापार गर्ने सहमति गर्दा नेपालसँग अनुमति नलिएकोमा विरोध सुरु भएको हो ।