खानेपानी मन्त्री प्रदीप यादव विरामीको बहाना बनाएर दिल्ली उडेपछि प्रधानमन्त्री चकित


काठमाडौं – खानेपानी मन्त्री प्रदीप यादवको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली निकै असन्तुष्ट देखिएका छन् । अझ आफूलाई छक्याएर यादव दिल्ली उडेपछि ओली चकित भएका छन् ।

प्रधानमन्त्री ओलीले जसपा नेपालबाट सरकारमा सहभागी मन्त्रीद्वय प्रदीप यादव र नवलकिशोर साह सुडीलाई पनि बालुवाटार बोलाएर राजीनामा गर्न लगाउने तयारी गरेका थिए । ओलीले जसपा अध्यक्ष अशोक राईसँग छलफल पनि गरेका थिए। तर खानेपानीमन्त्री यादवले आफूसहित तीन मन्त्रीलाई राजीनामा गराउन लागेको थाहा पाएपछि ‘विरामी’ परेको बहाना गर्दै उपचारका लागी भन्दै दिल्ली उडेपछि सोमबार तीन मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको प्रयास असफल भएको छ ।

मन्त्री यादव उपचारको बहानामा दिल्ली गए पनि उनको रणनीति भनेको तत्काल मन्त्रीबाट नहटाउन प्रधानमन्त्रीलाई दबाव दिने रहेको बताइन्छ । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणसम्म आफूलाई मन्त्री पदबाट नहटाउन आग्रह गर्दै आएका छन् ।
तर प्रधानमन्त्रीले आफूसहितका मन्त्रीलाई हटाउने थाहा पाएका यादव भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आएका बेला दिल्ली पुगेका छन् । भारतीय दबाबमार्फत मन्त्रीमै रहने उनको योजना तत्कालका लागि सफल भएको छ।

धानमन्त्री ओलीलाईसमेत चक्मा दिएका यादवकै कारण तत्कालका लागि मन्त्रीद्वय शरतसिंह भण्डारी र नवलकिशोर सुडीको समेत पद केही समयका लागि लम्बिएको छ।

यादव मन्त्री बन्न जस्तोसुकै हर्कत पनि गर्न माहिर मानिन्छन् । यसअघि जसपामा हुँदा उनले उपेन्द्र यादवलाई धम्क्याएरै मन्त्री खाइरहेका थिए । पछि पार्टी फुटाएर अशोक राईसँग लागेर खानेपानी मन्त्री बनेका छन् । तर एक वर्षे कार्यकालमा यादवको कार्यसम्पादन औसतभन्दा तल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।