काठमाडौैं । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले र राप्रपा सांसदबीच बाझाबाझ भएको छ । राप्रपा सांसद रोशन कार्कीले खाली पानामा हस्ताक्षर गर्ने कस्ता सांसद भन्दै बोलेपछि एमाले सांसद सांसद सूर्य थापा बीचमै उठेर कड्किएका थिए । उनले कार्कीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
‘उहाँहरूलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्याएर आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई हटाउने कुराहरू त्यहाँ चल्यो । नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गर्न लगाएछन् । सही गराउने कस्ता पार्टी ? सही गर्ने कस्ता माननीयहरू ? धिक्कार होस्,’ उनले भनेकी थिइन् ।
लगत्तै एमाले सांसद थापा नियमापत्तिका लागि उठे । उनी बोलिरहिन् । सभामुख घिमिरेले थापालाई किन उठेको भनेर प्रश्न गरे । कार्कीले भनिन्, ‘उहाँको बानी नै हो । जहिल्यै जुरुक्क जुरुक्क उठ्ने । जे कुरामा पनि उठ्नुहुन्छ । पहिले मलाई बोल्न दिनुहोस् ।’
आफ्नो नियमापत्ति रहेको बताएपछि सभामुखले समय दिए । उनले सांसद कार्कीले अपमानपूर्ण अभिव्यक्ति दिएकाले रेकर्डबाट हटाउन माग गरे ।‘अपमानपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ । कस्ता कागजमा सही गर्छौं, जानेर बुझेर गर्छौं,’ उनले भने । थापाले आफूहरू मण्डलेतन्त्रसँग लडेर आएको भन्दै कार्कीलाई चेतावनी दिए ।














प्रतिक्रिया