लिपुलेक प्रकरणले भारत र चीनसँग नेपालको सम्बन्धमा दरार


काठमाडौं – भारत र चीनले नेपालसँग परामर्श नै नगरी लिपुलेक पासबाट द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यो विषयले अहिले तरंग सिर्जना गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले नयाँ दिल्लीमा भारतीय समकक्षी एस शिवशंकरसँग सहमति गरेपछि नेपालले कडा प्रतिक्रिया जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार नै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ। विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको उल्लेख गर्दै सरकार यस विषयमा अडिग रहेको बताएको हो।

नेपालले भारत सरकारलाई सो क्षेत्रमा सडक विस्तार, सीमा व्यापारलगायत कुनै गतिविधि नगर्न बारम्बार आग्रह गर्दै आएको स्मरण गराइएको छ। साथै, विवादित क्षेत्र नेपालको भूभाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ।

नेपाल(भारतबीचको सम्बन्ध ऐतिहासिकरूपमा घनिष्ठ र मैत्रीपूर्ण रहेको र दुवै देशबीचको सीमा समस्या शान्तिपूर्ण र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको पनि बताइएको छ।

नेपालको भनाइलाई भारतीय विदेश मन्त्रालयले बुधबार नै खण्डन गर्दै नेपालको दाबी जायज नभएको बताएको छ । भारतले नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित नभएको भनेपछि यो विषयले ठूलो रूप लिने देखिएको छ । अमेरिकाले कर बढाएपछि चीन र भारत आपसमा मिल्दा नेपालको भूमि प्रयोग गरेर व्यापार गर्ने सहमति गरेका छन् । जबकि त्यो त्रिदेशीय नाका हो । ठूला देशको बीचमा रहेको नेपाल अहिले भारत र चीनको हैकमवादको चेपुवामा परेको छ ।