रवि लामिछाने र इन्दिरा राना मगरमाथि अन्याय भएको रास्वपाको आरोप


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले सभापति रवि लामिछाने र उपसभामुख इन्दिरा राना मगरमाथि गरिएको कार्यवाहीलाई राजनीतिक प्रतिशोध भएको आरोप लगाएका छन्।

आज संसदमा बोल्दै उनले लिपुलेक–कालापानीजस्ता भूभागको संरक्षणमा सरकार उदासीन रहेको भन्दै संविधानको रक्षा गर्नुपर्ने सरकारले त्यसको अपमान गरेको टिप्पणी गरे। उनले भने, “जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करीविरुद्ध कडा कदम चाल्ने सरकार हुनु पर्ने हो, तर उल्टै सरकारले अपराधलाई छोप्ने खेल खेलिरहेको छ।”

मानव तस्करीजस्तो गम्भीर विषयमा ठूला दलहरू मौन बस्ने प्रवृत्ति खेदजनक रहेको उल्लेख गर्दै उनले थपे, “भ्रष्टाचार सुन्न डराउने, तस्करी सुन्दा काप्ने, अनि नयाँ शक्तिमाथि मात्र औंला तेस्र्याउने प्रवृत्ति लोकतन्त्रको लागि घातक हो।”

नेपालीले उपसभामुख इन्दिरा राना मगरमाथि गरिएको अंकगणितीय खेललाई लोकतन्त्रको ठूलो अपमान भने। उनले २०७९ सालमा उपसभामुखले पदभार ग्रहण गरेको केही समयपछि बनेको एक सामान्य पत्रलाई १७ महिना लुकाएर २०८१ साउनमा मात्र सार्वजनिक गरिएको प्रसंग उठाउँदै, त्यतिबेला कारबाही नगरी अहिले आएर राजनीतिक हतियार बनाइएको प्रश्न गरेका छन्।

रास्वपाले यसअघि नै स्वतन्त्र छानबिन समिति गठन गर्न आग्रह गरेको स्मरण गराउँदै उनले उपसभामुखजस्तो पदलाई बारम्बार खेलौना बनाउन नहुने स्पष्ट पारे।

उनले भने, “अन्याय देखेर चुप बस्नेहरू मौन मलामी हुन्। भ्रष्टाचार र तस्करीसँग सम्झौता गर्नेहरू जनताको प्रतिनिधि होइनन्, अपराधका संरक्षक हुन्। जबसम्म मानव तस्करीको जालो भत्किँदैन र पीडितले न्याय पाउँदैनन्, हाम्रो संघर्ष जारी रहनेछ।”