लिपुलेकबारे भारत–चीन सहमति अस्वीकार्य : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिप्रति असहमति जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले दुई छिमेकी देशबीच भएको यो सहमति आपत्तिजनक र अस्वीकार्य भएको बताए । ‘सरकारले यसबारे जुन कदम अघि बढाएको छ, सबैलाई समेटेर अघि बढाओस् । हामी आग्रह पनि गर्न चाहन्छौँ । हाम्रै पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे ध्यानाकर्षण गराउनुभएको छ । त्यसतर्फ सरकारको ध्यान जाओस्,’ उनले भने ।

महामन्त्री थापाले यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । मतभेद भुलेर सबै राजनीतिक दलहरूले एकढिक्का भएर नेपाली भूमिका अरुको आँखा पर्न दिने छैन भन्ने सन्देश दिनुपर्ने पनि थापाको भनाइ छ ।

भारत र चीनले नेपालको अभिन्न अंग लिपुलेकबाट द्विपक्षीय व्यापार गर्ने सहमति भएपछि नेपालमा त्यसको विरोध भइरहेको छ । विभिन्न राजनीतिक दल र नेताले यो सहमतिको विरोध गरेका छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत र चीन भ्रमणको पूर्वसन्ध्यामा लिपुलेकको सहमतिले भ्रमण हुने नहुनेमा संशय पैदा भएको छ ।