काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पार्टीमा एकल नेतृत्वको अभ्यासमा लागे पनि उनलाई आफ्नै पदाधिकारीले चुनौती दिएका छन् । एमालेले पार्टीमा सक्रिय राजनीति गर्न रोक लगाउँदै क्रियाशील सदस्यता खारेज गरे पनि तीन पदाधिकारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका छन् ।
पार्टीकै तीन उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भण्डारीको पक्षमा खुल्दै भण्डारीको सम्पर्क कार्यालय उदघाटनमा गएपछि आसन्न एमालेको विधान महाधिवेशन ओलीका लागि सहज नबन्ने देखिएको छ । ओलीलाई काउन्टर दिन भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा फरक मत दर्ज गर्ने तयारी भएको छ।
अधिवेशनको मिति नजिक आइरहेका बेला वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र नेतृत्वको उमेरहद तथा कार्यकालको विषयमा फरक मत राख्ने तयारी गरेका हुन्। एमालेको केन्द्रीय कमिटी बैठकले पास गरेको विधान संशोधन प्रस्तावलाई विधान अधिवेशनमा फरक मत दर्ज गर्न लागिएको पोखरेलनिकट एक नेताको दाबी छ। यसो हुनेवित्तिकै भण्डारीको सदस्यता खारेज गर्ने एमालेको पूर्वनिर्णयमा पुनर्विचार गर्न ओली बाध्य हुनेछन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले फरक मत राख्न सक्ने संकेत गरेका छन्। मदन भण्डारी फाउन्डेसनले ७५औं मदन जयन्ती मनाउन गठन गरेको मूल समारोह समितिको सम्पर्क कार्यालय उद्घाटनमा सहभागी भएका पोखरेलले ओलीको वैचारिक संघर्षबारे जानकारी गराएका थिए।
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको पूर्वउपाध्यक्ष भन्दै सम्बोधन गरेका पोखरेलले ओलीमाथि पार्टीभित्रैबाट अनेक आरोप लाग्दा यही फाउन्डेसनबाट वैचारिक लडाइँ लडिएको बताएका थिए।
केन्द्रीय कमिटीको बैठकमा फरक मतसमेत राख्न नपाएका पोखरेलले विधान महाधिवेशनमा भने फरक मत राखेर जाने र विद्या भण्डारीको सदस्यता नवीकरणको पक्षमा उभिने संकेत गरेका हुन्।
ज्ञवाली र पाण्डेले गत साउनमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा फरक मतसमेत राखेका थिए। तर उनीहरूको फरक मतको विषयमा अन्तरपार्टी निर्देशनमा उल्लेख नगरेको भन्दै आपत्ति जनाइएको थियो।














प्रतिक्रिया