नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रास्वपा नेता कँडेल पक्राउ, यस्तो छ कर्तुत


काठमाडौं – विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् ।

रुपन्देही प्रहरीले चितवनस्थित कलेज कोच नेपाल प्रालिका सञ्चालक कँडेललाई बिहीबार पक्राउ गरेको हो। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बेलहिया बसपार्कस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवको बयानका आधारमा कँडेल समातिएका हुन् । रुपन्देहीस्थित प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार चितवन प्रहरीको सहयोग आधारमा कँडेललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

भारत कानपुरका यादवले चितवनको कालिका नगरपालिका– ५ वस्ने कँडेलेकै योजनामा नेपाल र भारतका नक्कली शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, होलमार्क, भिसा स्टिकरलगायतका कागजात बनाउने गरेको बयान प्रहरीलाई दिएका थिए । यादवले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाहरूका नक्कली प्रमाणपत्र बिक्रीवितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
कँडेल रास्वपा बागमती प्रदेश प्रशिक्षक विभागका संयोजक हुन् ।

चितवनको कालिका नगरपालिका–५ स्थित भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक भइसकेका कँडेल नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् । उनले आफूले पिएचडी गरेको दाबी गर्दै आएका छन् ।
उनले वीरेन्द्र क्याम्पस चितवनबाट आइएस्सी उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहुजी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अख्तियारको दाबी थियो ।

बयान छल्न नक्कली रिपोर्ट बनाएका थिए शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष उनलाई बयानमा बोलायो । भ्रष्टाचार मुद्दाको तनावमा परेका कँडेल बेहोस भएर आयोगभित्रै ढलेका थिए । उनलाई तत्कालै एम्बुलेन्समा अस्पताल लगियो । अस्पतालबाट ठिक भएर उनी घर फर्किए । तर, आयोगमा फेरि बयानमा भने फर्किएनन् ।

कँडेलले आफू गम्भीर बिरामी भएको भन्दै चितवनको भरतपुर अस्पतालबाट एउटा मेडिकल रिपोर्ट बनाउन लगाए । मुटुको रोग रहेको र हाइपरटेन्सनको समस्या भएकाले तीन महिना पूर्ण रूपमा आराम गर्नुपर्ने पत्रमा लेखिएको थियो । त्यही पत्र देखाएर उनले आयोगलाई टार्ने प्रयास गरे । तर, आयोगले बुझ्दा उनी विभिन्न कार्यक्रममा गइरहेका हुन्थे । यो थाहा पाएपछि आयोगले उनलाई बयानका लागि उपस्थित हुन भन्दै ३ पुस २०७९ मा प्रहरीमार्फत म्याद तामेल ग¥यो । तैपनि उनी आएनन् । १३ र १४ पुसमा गोरखापत्रमा सूचना निकाल्यो ।

त्यति गर्दा पनि उनी उपस्थित भएनन् । त्यसपछि आयोगले उनी गम्भीर बिरामी रहेको भन्दै पत्र लेख्ने भरतपुर अस्पतालसँग बुझ्यो । त्यस क्रममा तीन महिना स्कुलबाट बिदा चाहिने भएकाले व्यक्तिगत चिनजानका आधारमा त्यस्तो पत्र बनाइदिन आग्रह गरेको खुल्यो ।

त्यसपछि आयोगले अस्पताललाई पत्र नै पठाएर स्पष्टीकरण माग्यो । जसमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले जवाफ लेखे, ‘थप उपचार गर्न तीन महिना बिदा पाए सजिलो हुन्थ्यो भन्ने निजको आग्रहसमेत विचार गरी तीन महिना आराम गर्न सिफारिस गरेको हुँ ।


अस्पतालबाट झुटो विवरणको रिपोर्ट बनाएको आयोगले पत्ता लगाएपछि बल्ल उनी बयानमा उपस्थित भए । २५ भदौ ०६३ मा तृतीय तहको शिक्षकबाट जागिर सुरु गरेका कँडेलको प्रवीणता प्रमाणपत्र तथा स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको आयोगको दाबी छ ।

उनले भारतको मगध विश्वविद्यालय, बिहार बोधगयाबाट स्नातक तथा महाराष्ट्र स्टेट बोर्ड अफ पुनेबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनेर प्रमाणपत्र पेस गरी शिक्षकको स्थायी जागिर खाएका थिए । १७ मे २००० मा उनले स्नातक उत्तीर्णको समकक्षता पेस गरेका थिए ।