नेपाली सेना र सशस्त्र प्रहरीमा नयाँ भर्ना खुला


काठमाडौं – नेपाली सेना र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुला भएको छ। नेपाली सेनाको अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुला गरिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ। खुलातर्फ १४६ जना, सैनिक तालिम वा कर्तव्य पालनाक्रममा ज्यान गुमाएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जना कोटा छुट्याइएको छ।

त्यस्तै, महिलाका लागि २४ जना, आदिवासी जनजातिका लागि ३८ जना, दलितका लागि १८ जना र पिछडिएको क्षेत्रका लागि ६ जना कोटा छुट्याइएको छ। आवेदन असोज ४ गतेसम्म दिन सकिने निर्देशनालयले जनाएको छ।

यसैगरी, सशस्त्र प्रहरी बलमा पनि ८४६ जनाका लागि नयाँ भर्ना खुला भएको छ। जवान पदका लागि मात्र ७८६ जनाको दरखास्त माग गरिएको छ। आवेदन आउँदो एक महिनासम्म दिन सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।