काठमाडौं – प्रमुख प्रतिपक्ष माओवादीले सरकारले संसदलाई छलेर करका दर हेरफेर गरेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनले सदनलाई छलेर करका दर हेरफेर गरेको विषय बाहिर आएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए ।
यस विषयमा माओवादीले अर्थमन्त्री विष्णु पौडेलसँग जवाफ माग गरेको छ । आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गर्नुले अर्थमन्त्री असक्षम रहेको पुष्टि भएको पुनले टिप्पणी गरे ।
पुनका अनुसार सलाई बनाउन आवश्यक काठको भन्सार शुल्क, सुख्खा तथा पेय पदार्थका जुसमा ३५ प्रतिशत अन्तःशुल्क तथा औषधि प्याकेजिङमा प्रयोग हुने बोटलमा लगाइएको अन्तःशुल्क सरकारले घटाएको छ । आर्थिक विधेयक पास भएको पहिलो चौमासिकभित्रै सदनलाई छलेर करको दरमा यसरी हेरफेर गर्नु आर्थिक अपराध हुने उनले जिकिर गरे ।
‘सरकारले संसदलाई छलेर करका दरहरु हेरफेर गरेको समाचार हिजो र आज सञ्चारमाध्यममा आएका छन् । संसद् चलिराखेको छ । भर्खरै आर्थिक विधेयक पास भएको छ । पहिलो चौमासिकमै सरकारले यसरी करका दर हेरफेर गरेको छ ।
यसप्रति हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ’, पुनले भने, ‘यसरी संसदलाई छलेर करसम्बन्धी अन्तरराष्ट्रिय सिद्धान्तविपरित करका दर हेरफेर गर्नु आर्थिक अपराध हुन जान्छ । यसबारे के भएको हो ? किन गर्न खोजेको हो ? जवाफ देओस् ।’














प्रतिक्रिया