भ्रष्टाचारी ठहर कांग्रेस सर्लाही सभापति सिंहले दिए पदबाट राजीनामा


काठमाडौं । भ्रष्टाचारी ठहर कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् ।

सर्लाहीको मनुसमारा सिँचाइ आयोजनामा सिसौको रुख कटान गरी करोडौं भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

सिंह सर्लाहीको तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा गरेको आर्थिक अनियमितता मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै उनलाई कैद र जरिवाना सुनाएको थियो । सो आदेशविरुद्ध सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । २०८१ फागुन १५ मा सर्वोच्चले पनि विशेषको फैसला सदर गर्दै दोषी ठहर गरेको थियो ।

सर्वोच्चले उनीविरुद्ध चार महिना १५ दिन कैद र एक करोड २३ लाख रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । तर, भ्रष्टाचार दोषी ठहर भएपछि पनि उनी जिल्ला सभापतिकै हैसियतमा सक्रिय थिए । जसलाई लिएर कांग्रेस सर्लाही कार्यसमिति आन्दोलित हुँदै आएको थियो ।

सिंहले भने आफूमाथि लगाइएको मुद्दाको सन्दर्भमा अदालतले निर्णय गरेको अवस्था रहेको भन्दै राजीनामा पत्रमा अदालतको निर्णयले अन्याय भएको जिकिर गरेका छन् । ‘ममाथि भएको अन्यायको, म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइँ लडिरहनेछु। साथमा मेरो राजनीतिक लडाइँ जारी नै रहनेछ,’ सिंहले देउवालाई लेखेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

अदालतको निर्णयपछि आफू पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिएको खुलाएका छन् । ‘सम्मानित अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधानबमोजिम म सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन। यसकारण म नियम कानुन र पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी गराउँछु,’ सिंहले भनेका छन् ।

सभापति पदबाट राजीनामा दिए पनि नेपाली कांग्रेसप्रतिको निष्ठा अविचलित छ र रहने उनले भनेका छन् । ‘म पार्टीको आधिकारिक जिम्मेवारीमा नरहे तापनि नेपाली कांग्रेसको सर्वोत्तम हितलाई सर्वोपरी ठानी सदाझैँ निरन्तर पार्टीको बृहत्तर हित र लोकतन्त्र रक्षार्थ आफ्नो भूमिका निर्वाह गरिनै रहनेछु,’ उनले भनेका छन् ।

फौजदारी कसुरमा दोषी ठहर भएकाले सिंहको राजनीतिक भविष्य सकिएको छ । उनले कुनै पनि चुनाव लड्न पाउँदैनन् ।