अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसलाई कडा चेतावनी: ‘दुई हप्ताभित्र युद्धविराम नभए ठूलो निर्णय’


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धबारे दुई हप्ताभित्र प्रगति नभए अमेरिकाले कडा कदम चाल्ने चेतावनी दिनुभएको छ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले चाँडै महत्त्वपूर्ण निर्णय गर्ने भन्दै त्यसमा रुसमाथि ठूलो मात्रामा प्रतिबन्ध, कर वा दुवै लगाउने विकल्प रहने बताउनुभयो। उहाँले वर्तमान युद्धस्थितिबाट आफू सन्तुष्ट नभएको उल्लेख गर्दै, “शान्तिपूर्ण समाधानका लागि अब ठूला निर्णय आवश्यक छन्” भन्नुभयो।

यो बयान गएको अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक सातापछि आएको हो। सो शिखर सम्मेलनमा युद्धविरामबारे सहमति हुन सकेको थिएन।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनबीच प्रत्यक्ष वार्ताको वकालत गर्दै, दुवै नेताले सँगै बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। साथै, आफ्नो कार्यकालमा सातवटा युद्ध रोकिएको र तीनवटा सम्भावित युद्धलाई टारेको दाबीलाई फेरि दोहोर्याउनुभयो।

यसअघि, अगस्ट १८ मा राष्ट्रपति जेलेन्स्की युरोपेली नेतासँग छलफल गर्न वाशिङ्टन पुगेका थिए। सो भेटपछि ट्रम्पले पुटिन–जेलेन्स्की वार्ता सम्भव हुने संकेत दिएका थिए।

यता, ट्रम्पले हालै युक्रेनको एक अमेरिकी कारखानामा भएको रुसी आक्रमणप्रति आक्रोश प्रकट गर्नुभएको छ। आक्रमणपछि कारखानामा आगलागी हुँदा धेरै कामदार घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।