प्रधानमन्त्री ओलीसँग विपिन जोशीकी आमा र बहिनीको भेट


काठमाडौँ । हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका पहलका विषयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

हालै इजरायल भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका उहाँहरूले प्रधानमन्त्रीलाई विपिनको अवस्था र त्यहाँ गरेका पहलका बारेमा जानकारी गराएका हुन्। नेपाली दूतावासको समन्वयमा पद्मा र पुष्पाले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेट गरी विपिनको तत्काल रिहाइका लागि आग्रहसमेत गरेका थिए।

प्रधानमन्त्री ओलीले सरकार बिपिनको सुरक्षित रिहाइका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कूटनीतिक पहललाई अझ सक्रिय तुल्याइने र पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहने आश्वासन दिनुभयो।