निर्देशक दीपाश्री निरौलाको जन्मदिनमा दीपकराज गिरीको भावुक शुभकामना


काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शनिबार आफ्नो जन्मदिन मनाउँदै छिन्। सामाजिक सञ्जालमा प्रशंसक तथा साथीहरूले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन्।

दीपाश्रीको विशेष दिनमा उनका निकट मित्र दीपकराज गिरीले हरेक वर्षझैँ यसपटक पनि अर्थपूर्ण शुभकामना सन्देश लेखेका छन्। दीपालाई आफ्नो “सुख–दुःखकी साथी” भन्दै दीपकले भावुक शब्दमार्फत शुभकामना दिएका छन्।

दीपकले लेखेका छन् :
“समाज जतिसुकै आधुनिक भए पनि नारीप्रति मनोवैज्ञानिक विभेद कायम छ। उपलब्धिलाई भन्दा व्यक्तिगत जीवनलाई बढी प्रश्न गरिन्छ, अनावश्यक चासो राखिन्छ। तर यस्ता बाधा–अड्चनका बाबजुद निरन्तर कर्ममा लाग्ने, कर्ममा अब्बलता प्रमाणित गर्ने दीपालाई सर्वप्रथम सलाम छ।”

उनी थप्छन् :
“तिमी सबैप्रति दयाभाव राख्ने, सुविधाभन्दा समर्पणमा विश्वास गर्ने, पीडालाई पोल्टामा राखेर पनि हाँस्न सक्ने, अरूलाई फूल बाँड्ने, खुसी सापट दिने तर भूल्ने…। सबैभन्दा जाति साथी तिमी नै हौ। ह्याप्पी बर्थडे माई डियर फ्रेन्ड दीपा।”

दीपक–दीपाको मित्रता नेपाली फिल्म क्षेत्रमा निकै चर्चित छ। सामाजिक सञ्जालमा दुवैको आपसी बन्धन र अभिव्यक्तिहरू प्रशंसकहरूले प्रायः मन पराउने गरेका छन्।