प्रचण्ड र जनार्दनको टकरावले माओवादी चोइटिने खतरा


काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा सार्वजनिक मञ्चबाटै आरोपप्रत्यारोपमा उत्रिएका छन् । हिजो बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापा बादललाई आफ्नो आलोचना गरेकै कारण प्रचण्डले पार्टीबाट निकालेका थिए । अहिले फेरि जनार्दन शर्मा उनको आँखाको कसिंगर बनेका छन् । शर्माले प्रचण्डलाई लक्षित गर्दै मनमोहन अधिकारीबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्रीहरू भ्रष्टाचारमा मुछिएकोसमेत भने पनि प्रचण्डले पनि जनार्दन्लाई पार्टी नै छोडेर जान चुनौती दिएका थिए ।

प्रचण्ड र शर्माबीच चलिरहेको अन्तरसंघर्षबारे हालै सम्पन्न स्थायी कमिटी बैठकमा पनि घनीभूत रूपमा छलफल भएको थियो । बैठकले नेतृत्वको आलोचना गरेकोमा शर्माले आत्मालोचना गनुपर्ने सुझाव दिएको थियो । तर, शर्मा त्यसका लागि तयार नभई उल्टै पहिला प्रचण्डले आत्मालोचना गर्नुपर्ने अडान लिए । यद्यपि बैठकमा पार्टीभित्रका विवाद बाहिर छताछुल्ल नपार्ने निर्णय भएको थियो । माओवादीको सर्कुलरमा समेत यो विषय उल्लेख छ । यसका साथै जनार्दन शर्माले आत्मालोचना गर्न निर्देशन दिँदा अटेर गरेको विषय पनि सर्कुलरमा समावेश छ ।

‘कमरेड प्रभाकरले आत्मालोचना गर्नु भएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो । अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै क। प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यस प्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरिएको छ’, सर्कुलरमा उल्लेख छ । तर शर्माले भने नेतृत्वको आलोचना गर्न छोडेका छैनन् ।

सार्वजनिक मञ्चमा चर्का नसुनिए पनि पार्टीका नेता कार्यकर्तासँगको अन्तरक्रियाका क्रममा उनले आफ्ना कुरा निर्धक्क राखिरहेका छन् । पार्टीले सर्कुलर जारी गरेपछि शर्मा गृहजिल्ला रुकुममा राजनीतिक कार्यक्रममा सरिक भएका थिए । रूपान्तरणको कुरा गर्दा, नीति तथा विधिको कुरा गर्दा पार्टी नेतृत्वले पेल्दै आएको गुनासो शर्माले गरेको बैठकमा सहभागी रुकुमका नेताले बताए ।

ती नेताका अनुसार आफूले सधैँ अध्यक्षलाई सहयोग गरेको भन्दै शर्माले नीतिगत रूपमा र परिष्कृत गरेर जाऊँ भन्दा आफूलाई पेलिएको बताएका थिए । अध्यक्षले भनेको सधैँ मान्दै आए पनि नयाँ कुरा उठाएर पेल्ने गरेको शर्माको गुनासो छ । पार्टी विभाजन गर्छ भन्ने हल्लासम्म चलाइएको भन्दै शर्माले कार्यकर्तासँग गुनासो पोखेका थिए । शर्माले आइतबार स्थायी समिति बैठकमा पार्टी प्रचण्डलाई समेत आत्मालोचना गर्नुपर्ने माग गरेका थिए ।

अध्यक्ष प्रचण्डले ‘गल्ती गर्नेले मात्र आत्मालोचना गर्छ’ भनेर प्रत्युत्तर दिएसँगै दुवै नेताबीचको मतभेद झनै चुलिएको हो । हालै प्रचण्डले आफूले काँध छाड्दा गल्र्यामगुर्लुम होला कि भन्ने डर रहेको बताएका थिए । त्यसलाई शर्माले सार्वजनिक रूपमै प्रचण्ड कुनै शेषनाग नभएको र पृथ्वी थेग्छु भन्ने भ्रम फाल्न चेतावनी दिएका थिए । यसले कतै माओवादी फेरि चोइटिने दिशामा पुगेको त होइन भन्ने विश्लेषण हुन थालेको छ ।