काठमाडौं । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्वजानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो ।
यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो । वडा नम्बर २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नम्बर ४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदी नजिकै यो प्रणाली जडान गरिएको बताए । नदीमा पानीको बहाब बढेपछि घन्टी बज्छ, यो घन्टीले सचेत हुन र आवश्यक सावधानी अपनाउन मद्दत गर्छ । आवश्यक भए अन्यत्र पनि जडान गर्ने महानगर प्रमुख महर्जनले बताए ।
महानगर विपद् व्यवस्थापन शाखाका अनुसार झण्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ । बाढीको अवस्थाबारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिनसमेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ । अर्ली वार्निङ सिस्टम जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको नगर प्रमुख बताए ।
ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि एउटै छानामुनि विपद् व्यवस्थापनमा आवश्यक जनशक्ति र सामग्रीहरुको व्यवस्थापन गरेको छ । पुल्चोकस्थित नगरप्रहरी बल कार्यालयमा नगर प्रहरी, दमकल, शववहान, डुंगाको व्यवस्थापन गरेको छ । यसैगरी विपद्को बेलामा प्रयोग गर्नुपर्ने अन्य सामग्रीहरु पनि त्यहाँ राखिएको छ ।














प्रतिक्रिया