काठमाडौं । आफूलाई एमालेले सक्रिय राजनीतिबाट रोक्ने निर्णय गरेपछि पार्टी अध्यक्ष केपी ओलीविरुद्धको रणनीति निर्माणमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जुटेकी छिन् ।आगामी भदौ २०–२३ मा एमालेको विधान महाधिवेशन हुँदैछ । महाधिवेशनबाट आफूले खोजेजस्तै विधान हेरफेर गराउने रणनीति भण्डारीको छ ।
भण्डारीले ७० बर्षे उमेर हदबन्दी राख्नुपर्ने र पालिकादेखि केन्द्रसम्मको पदाधिकारीमा उही व्यक्ति उही पदमा तेस्रो कार्यकाल आउन नपाउने गरी पार्टीको विधान संशोधन चाहेकी छन् । तर अध्यक्ष ओली यसको विपक्षमा छन् । ओलीले उमेर हदबन्दी राख्न नहुने र एउटै पदमा तेस्रो कार्यकालका लागि पनि आउन मिल्ने पार्टी विधान खोजेका छन् । त्यसका लागि उनले पार्टीको केन्द्रीय कमिटीबाटै आफू अनुकूल विधान हुने गरी विधान मस्यौदा पारित गराइसकेका छन् । त्यसमा विधान महाधिवेशनबाट भण्डारीले हेरफेर खोजेकी छन् भने ओलीले जस्ताको त्यस्तै पारित गराउने रणनीतिमा छन् ।
गत बिहीबार मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै एमाले पूर्वउपाध्यक्ष भण्डारीले अब त्यही कार्यालयबाट आफ्नो रणनीतिअनुसार अगाडि बढिरहेकी छन् । भण्डारीलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्धय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहितका नेताले साथ दिएका छन् ।
ओली रणनीतिअनुसार भण्डारीले दोस्रो ‘प्लान बी’ को ’मा समेत छलफल थालेकी छन् । ११औँ महाधिवेशनबाट भण्डारी एमाले अध्यक्ष नहुने गरी रोक्ने र छेक्ने काम भयो भने उनले प्लान बी अनुसार काम गर्नेछिन् । भण्डारीको सदस्यता एमालेले नवीकरण नगरी रोकेको छ । उनको नवीकरण नभए वरिष्ठ उपाध्यक्ष पोखरेललाई अगाडि सार्ने रणनीति भण्डारीको छ ।
‘प्लान बी अनुसार सदस्यता नवीकरण रोक्ने, नवीकरण नगर्ने हो भने अगामी महाधिवेशनमा भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षमा प्रस्ताव गर्ने’बारेमा समेत छलफल भइरहेको छ । त्यसैले आगामी विधान महाधिवेशनमा एमालेमा रडाको मच्चिने निश्चित छ ।
यसअघि गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा लागेको घोषणा भण्डारीले गरेकी थिइन् । पार्टीको संगठित सदस्यता नवीकरण गरिसकेर सक्रिय राजनीतिमा लागेपछि हालै बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता ‘होल्ड’ गर्दै राजनीतिमा ‘ब्रेक’ लगाउने निर्णय गरेको थियो ।














प्रतिक्रिया