जनार्दनले हानेको झटारोपछि प्रचण्डले स्थगित गरे पदाधिकारी बैठक


काठमाडौं – माओवादी पदाधिकारी बैठक एक्कासि स्थगित गरिएको छ । दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

माओवादी सचिव सचिव गंगानारायण श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको बताए ।

यसअघि बिहीबार बोलाइएको बैठकसमेत स्थगित भएको थियो । बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।

शनिबार एक कार्यक्रममा पार्टी उपमहासचिव जनार्दन शर्माले प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरेका थिए । प्रचण्डले बुधवार सरकारमा नभए पनि राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका थिए । उनले भनेका थिए– ‘राजनीतिको खाँबो आफैंले थेगे जस्तो लाग्छ । कतै छोड्दा गल्र्यामगुर्लुम ढल्ने पो कि भन्ने चिन्ता लाग्छ ।

प्रचण्डको त्यही अभिव्यक्तिको जवाफ दिँदै शर्माले शेषनाग हल्लिँदा भूकम्प नआउने भन्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताएका थिए । प्रचण्ड र शर्माबीच खटपट भइरहेका बेला पदाधिकारी बैठक स्थगित हुनुलाई सामान्य मानिएको छैन ।