पाँच वर्षपछि भारतमा टिकटक चल्न थाल्यो


काठमाडौं – पछिल्लो केही समययता भारत र चीनबीच सम्झौता, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग आदानप्रदान तीव्र ढंगले बढ्न थालेको छ । त्यसैको प्रभावस्वरुप भारतमा चिनियाँ सोसल मिडिया प्लाटफर्म टिकटकको वेबसाइट चल्न थालेको छ । तर टिकटक एपमाथिको प्रतिबन्ध भने अझै हटेको छैन ।

भारतले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२० मा टिकटकलगायतका ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

पाँच वर्षपछि भारतले प्रतिबन्धित चिनियाँ प्लाटफर्महरु आंशिक रुपमा फुकुवा गरेको हो । योसँगै टिकटकको वेबसाइट, शपिङ साइट अली एक्सप्रेसलगायतका वेबसाइटहरु भारतमा चल्न थालेका छन् ।

भारतीय समाचारमाध्यमका अनुसार भारतमा टिकटकको वेबसाइट खुलेपनि गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरमा टिकटक एप देखिएको छैन । भारतमा टिकटकको होमपेज मात्र खुलेको र प्रयोगकर्ताको अकाउन्ट लगइन नभएको भनी सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट हाल्न थालेका छन् ।

भारत सरकार तथा टिकटकको मातृ कम्पनी बाइटडान्सलगायतले भारतमा चिनियाँ एप तथा साइटहरुमाथिको प्रतिबन्ध फुकुवा भएको विषयमा आधिकारिक रुपमा केही बताएका छैनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशीमन्त्री वाङ यीबीच भएको भेटवार्तामा सीमाक्षेत्रमा शान्ति कायम गर्ने, सीमा व्यापार खुल्ला गर्ने तथा लगानी वृद्धिलगायतका विषयमा कुराकानी भएको थियो ।