प्रधानमन्त्रीलाई नै चक्मा दिने खानेपानी मन्त्री प्रदीप यादवको कुर्सी चैट


काठमाडौं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई भदौ ११ गतेभित्र राजीनामा दिन निर्देशन दिएको छ । पार्टीको पदाधिकारी बैठकले अहिले सरकारमा रहेका मन्त्रीहरू प्रदीप यादव र नवलकिशोर सुडीलाई फिर्ता बोलाउन निर्णय गरेको हो ।

मन्त्रीहरू यादव र सुडीलाई फिर्ता बोलाएर उनीहरूको ठाउँमा नयाँ नाम सिफारिस गरिएको छ । सिफारिस गरिएको नाम प्रधानमन्त्री केपी ओलीसमक्ष पठाइएको छ । तर क–कसलाई मन्त्री बनाइँदैछ भन्ने खुलाइएको छैन ।

सरकारमा पठाउने बेलामा नै एक वर्षका लागि भनेर पठाइएकोले अहिले सरकारमा भएका मन्त्रीहरूलाई राजीनामा दिन अध्यक्ष राईले निर्देशन दिएका छन् । जसपा वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले एक वर्षको कार्यकाल रहनेगरी मन्त्रीहरूलाई सरकारमा पठाइएको बताए । ‘अहिले हामीले पार्टीका तर्फबाट मन्त्रीहरुको नयाँ नाम सिफारिस गरेका छौं । हामीले प्रधानमन्त्रीज्यूसमक्ष नाम पेश गरिसकेका छौं । पुराना मन्त्रीहरूलाई फिर्ता गराएर नयाँ मन्त्री बनाउने भन्ने निर्णय भएको छ,’ उनले भने ।

स्रोतका अनुसार नयाँ मन्त्रीका लागि डा.वीरेन्द्रप्रसाद महतो र अर्का एक महिला सांसदको नाम सिफारिस गरिएको छ । महतो यसअघि पनि वनमन्त्री बनेका थिए ।

खानेपानीमन्त्री यादव केही दिनअघि राजीनामा दिनुपर्ला भनेर विरामीको नाटक गरेर नयाँ दिल्ली पुगेका थिए । कुनै विरामी नभए पनि उनले बहाना बनाएका थिए । तर प्रधानमन्त्रीलाई नै चक्मा दिएको भेद खुलेपछि उनलाई तत्काल हटाउन दबाब परेको हो ।