काठमाडौं । उपसभामुखको पद संवैधानिक र सम्मानित पद हो । यो पदमा रहने व्यक्तिले देशको संविधान, नियम र कानुनको पालना गर्नुपर्छ । तर, उपसभामुख इन्दिरा रानामगरमाथि पदीय मर्यादा र नियम उल्लंघन गरेको गम्भीर आरोप लागेको छ ।
रानाले उपसभामुख भएपछि १७ पटक वैदेशिक भ्रमण गरेकी छन् । तर, तीमध्ये १० पटक स्वीकृतिविनै भ्रमण गरेको तथ्य बाहिरिएको छ । संवैधानिक पदमा बसेर स्वीकृति नलिई भ्रमण गर्नु नियमविपरीत मानिन्छ ।
उनले असम्बन्धित व्यक्तिहरूलाई भिसा दिलाउन काठमाडौंस्थित अमेरिकी दूतावासमा पत्राचार गरेको आरोपसमेत लागेको छ । यस्ता कार्यले उनको पदीय आचरणमाथि प्रश्न उठेको छ । उपसभामुख रानाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ दलहरू उनलाई पदबाट हटाउने तयारीमा जुटेका छन् । तर, यो प्रक्रिया सहज छैन । नेताहरूबीच छलफल चलिरहेको छ– के उनलाई औपचारिक प्रक्रियामार्फत हटाउने वा उनले आफैँ राजीनामा दिने ? यो प्रश्नले राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।
नेपाल प्रहरीले उपसभामुख राना जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी घटनाको अनुसन्धान सुरू गरेको छ । राना कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्था अवैधरूपमा बालबालिका ओसारपसारमा संलग्न रहेको एक सरकारी प्रतिवेदन सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
भदौ ५ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख रानासम्वद्ध संस्था पिए नेपालको संलग्नता रहेको दाबी गरेका थिए ।
२०७२ कात्तिक १७ गते सिफलस्थित बाल संगठनको बालगृहबाट पाँच बालबालिका हराएका थिए । उनीहरू कहाँ गए भन्ने खोजी तीव्र भएको थियो । २०७२ माघ १८ गते बालगृहका एक कर्मचारीले बाल कल्याण समितिमा दिएको बयानमा पीए नेपालसँग सम्बन्धित व्यक्तिहरुले ती बालबालिकालाई जबरजस्ती लिएर गएको बयान दिएका थिए । उक्त संस्थाको कार्यकारी निर्देशक राना थिइन् । नेपाल बालसंगठनी पूर्वअध्यक्ष रीतासिंह वैद्यले समेत पाँच बालबालियले पिए नेपालले लगेको बयानमा भनेकी छन् ।
चौतर्फी चासोको विषय बनेपछि सरकारले उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा एक जाँचबुझ आयोग गठन भएको थियो । उक्त आयोगले पिए नेपाल र त्यसकी कार्यकारी निर्देशक रानाको संलग्नता पुष्टि गर्दै प्रतिवेदन पेश गरेको थियो । सीआईबीकै मातहतमा रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले उक्त घटनाका अन्य प्रमाण संकलन गरिरहेको स्रोतले जनाएको छ । घटनामा संगठित रूपमा बालबालिका बेचबिखन भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
राना अहिले अमेरिका भ्रमणमा छिन् । उनी भदौ १३ गते स्वदेश फर्कने कार्यतालिका छ । उनी स्वदेश फर्केलगत्तै प्रतिनिधिसभामा उनलाई हटाउने प्रस्ताव पेस हुनेछ ।














प्रतिक्रिया