हरितालिका तीज यसकारण पनि आर्थिक चलायमान गर्ने पर्व मानिन्छ


काठमाडौं – हिन्दु धर्मावलम्बी नेपाली महिलाले हरितालिका (तीज) भदौ १० गते मनाउँदैछन् । तीज एक दिन निराहार व्रत बसी भगवान शिवको पूजाअर्चना गर्ने गरिन्छ । यस दिन देशभरका शिवालयमा महिलाहरूको विशेष भीड लाग्छ । सांस्कृतिक पर्व भए पनि तीज आर्थिक चलायमान हुने सीमित पर्वमा पर्छ ।

विगतमा तीज आउनु एक महिनाअघिदेखि नै दर खाने प्रचलन थियो । तर अहिले त्यसमा केही कमी आए पनि दुई सातासम्म हरेक घर, गाउँ, टोल, समाज, संघसंस्थामा सामूहिक दर खाने प्रचलन छ । तीजको शुभकामना आदानप्रदान गर्न सहरका ब्यांक्वेट र पार्टी प्यालेस भरिभराउ हुन्छन् । अलि सम्पन्न परिवारले महँगा होटलमा समेत दर खाने गरिएको पाइन्छ । नेपाल मात्र होइन, विदेशमा नेपाली बाहुल देशमा पनि तीजको दर खाने प्रचलन छ । जसले आर्थिक कारोबार ह्वात्तै बढाइदिन्छ ।

तीजमा आफ्ना श्रीमती र छोरीबुहारीका लागि नयाँ कपडा र सुनचाँदीका गरगहना किनिदिने गरिन्छ । यसले पनि भदौ महिनामा बजार अत्यधिक चलायमान हुन्छ । त्यसैले पछिल्लो समय सबै समुदायका पुरुष महिलामा तीजप्रतिको आकर्षण देखिएको छ । तीजको अघिल्लो दिन द्वितीया तिथिमा दर खाने चलन छ । यो दिन हरेकका घरमा दर पाक्छ । यो दिन दूध, दही, घ्यू, माछा, मासुको अत्यधिक खपत हु्ँदा आर्थिक कारोबार राम्रै फस्टाउने गर्छ ।

तीजको तीन दिन नेपाली सिनेमाका लागि वरदान नै मानिन्छ । यही बेला धेरै निर्माता निर्देशकले आफ्ना चलचित्र रिलिज गर्ने गर्छन् । तीजमा रिलिज भएका जुनसुकै चलचित्रले पनि करोडौंको व्यापार गर्ने गरेकाले पनि आर्थिक चलायमान हुने गरेको हो ।